प्रहार समाचार । काठमाडौँ, २६ असोज २०८२ आइतवार । नेपालले यूएईलाई रोमाञ्चक १ रनले पराजित गर्यो । ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा भरखरै सम्पन्न विश्व T20 क्वालिफायरको सुपर सिक्स चरणको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।

खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल बनायो। नेपालका आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेलले २० रन जोडे।
जवाफमा यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। यूएईका अलिशान शराफुले ५८ रन र ध्रुव पराशरले १८ बलमा ३२ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सोमपाल कामी र गुलशन कुमार झाले पनि १–१ विकेट हात पारे।

यस जितसँगै नेपालले सुपर सिक्स चरणमा महत्वपूर्ण २ अंक जोडेको छ र विश्वकपमा पुग्ने आशा अझ बलियो बनाएको छ।

























