हेडलाईनसमाचारगण्डकी

बागलुङको ढोरपाटनका मेयरसहित १३ जनाविरुद्ध १.५८ अर्बको मुद्दा : सहकारीको खोल ओढेर ठगी

प्रहार समाचार । बागलुङ, २६ असोज २०८२ आइतवार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित १३ जनाविरुद्ध १ अर्ब ५८ करोड रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले २३ भदौमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागले उनीहरूलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बिगोको दोब्बर जरिवाना र २ देखि १५ वर्षसम्म कैद सजायको माग गरेको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थामार्फत १ हजार ५ सय ४३ जना बचतकर्ताको १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको अनुसन्धानबाट खुलेको छ। मेयर नेपाली सहित सहकारी संस्थाका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, सदस्य रूपा विक, सदस्य झगबहादुर शाहीको समेत निर्देशनमा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङकका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकोटका शाखा प्रबन्धक अनिल नेपालीले बचतकर्ताको बचत अपचलन गर्ने उद्देश्यले कृत्रिम खाता खोली रकम जम्मा गरेको विभागले फेला पारेको छ । उनिहरुले कृत्रिम खाता खोली रकम रकमान्तर गरी फर्जी ऋण प्रवाह गरेको अभियोगपत्रमा उल्लेख छ। वास्तविक ऋणी नदेखाई नक्कली नाममा ऋण देखाएर संस्थाको रकम निकासी गरिएको र त्यसैमार्फत बचतकर्ताको सम्पत्ति हिनामिना गरिएको छ।

राजस्व छलीदेखि नियामक छलकपटसम्म आरोपितहरूले सहकारीको लेखा परीक्षण, चौमासिक विवरण तथा वार्षिक प्रतिवेदनसमेत नियामक निकायमा बुझाएका थिएनन्। संस्थामा रहेका ४० लाख बराबरको सेयर, १ लाख २० हजार नगद र मेयर नेपालीको नाममा दर्ता ३३ कित्ता जग्गा जफत गर्न माग गरिएको छ। यो मुद्दाले सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजकता र नियमनको कमजोर उपस्थितिलाई पुनः उजागर गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button