प्रहार समाचार । काठमाडौँ, २६ असोज २०८२ आइतवार । पछिल्ला दिनमा सुनचाँदी बजारमा तीव्र उतारचढाव देखिँदै गर्दा आज पुनः मूल्यवृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला ४० रूपैयाँ महँगिएको छ। यो वृद्धिले दशैँपछिको कारोबारमा थप चासो जगाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार दुई लाख ३८ हजारमा पुगेर कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि तीन हजार ८५ बाट बढेर आज तीन हजार १२५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा रहेको देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ। विश्लेषकहरूले विश्व बजारको अस्थिरता र लगानीकर्ताको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणलाई मूल्यवृद्धिको प्रमुख कारण बताइरहेका छन्।


















