प्रहार समाचार । तनहुँ, २५ असोज २०८२ शनिवार । मोहन बतास फाउण्डेशनका संस्थापक तथा समाजसेवी मोहन बतासले व्यास नगरपालिका–४ स्थित नुरी हनफी मदर्शालाई शैक्षिक प्रविधिमा नयाँ पाइलाका रूपमा एक थान ल्यापटप प्रदान गरेका छन् ।

शुक्रवार दमौलीस्थित मस्जिदमा आयोजित कार्यक्रममा बतासले मुस्लिम समाजका अध्यक्ष जमालदिन मियाँमार्फत नुरी हनफी मदर्शालाई उत्त ल्यापटप प्रदान गरेको जनाए । मुस्लिम समाजका अध्यक्ष जमालदिन मियाँ फाउण्डेशनले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै यसले डिजिटल पहुँच बढाउनुका साथै समाजमा सामाजिक एकता कायम गर्ने बताए ।
फाउण्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। यस सहयोगले मदर्शाका विद्यार्थीलाई प्रविधि–मैत्री शिक्षा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
फाउण्डेशनले विगतमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न पहलहरू गर्दै आएको जनाएको छ। बतासको यो कदमले डिजिटल शिक्षाको पहुँचलाई प्रोत्साहन गर्दै शैक्षिक एवं धार्मिक संस्थाहरूमा समेत प्रविधिको पहुँच विस्तार गर्न सकिने संकेत दिएको छ।



























