प्रहार समाचार । काठमाडौं, २४ असोज २०८२ शुक्रवार । नेपाल प्रहरी प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महानिरीक्षक खापुङ्गले कहीँ कतै त्यस्तो आशयको अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब परे राजीनामा दिन्छु’ भन्ने आशयमा कुनै अभिव्यक्ति दिएका छैनन्।”

प्रहरीका अनुसार हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको सुरक्षा बैठकमा समसामयिक घटनाक्रम र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीहरूबारे छलफल भएको हो। सो बैठक शान्ति सुरक्षा कायम गर्न केन्द्रित रहेको र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
“समाचार माध्यममा आएको अभिव्यक्ति निराधार र भ्रामक छ,” प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। साथै उनले यस्ता विषयमा जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन्।
प्रहरीले यस्ता अपुष्ट समाचारले सुरक्षा निकायप्रति अनावश्यक भ्रम सिर्जना गर्न सक्ने बताउँदै तथ्यमा आधारित जानकारी मात्र सम्प्रेषण गर्न अनुरोध गरेको छ। विज्ञप्तिमा नेपाल प्रहरीले नागरिकको सुरक्षा र शान्ति-सुव्यवस्था कायम गर्न निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। हेरौँ विज्ञप्ति :


























