प्रहार समाचार । काठमाडौँ , २४ असोज २०८२ शुक्रवार । राजनीतिक पहुँचका आडमा स्वास्थ्य उपकरण खरिदमा अनियमितता, कानुनविपरीत प्रक्रिया र गुणस्तरहीन मेसिन स्वीकृतिको आरोपसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, एमआरआई मेसिन खरिदमा प्रचलित कानुनको उल्लङ्घन गर्दै १२ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको देखिएको छ। प्रमुख प्रतिवादी बनाइएकी भण्डारीसहित अन्य १२ जनामाथि बिगोअनुसारको जरिवाना र नौ करोडभन्दा बढीको असुली माग गरिएको छ। साथसाथै, तीन महिनादेखि तीन वर्षसम्मको कैद सजायसमेत मागदाबी गरिएको छ।
पूर्व उपकुलपति भण्डारी तत्कालीन समयमा बिना योजना र आवश्यकता पहिचानकै प्रक्रिया नअपनाई स्वास्थ्य मन्त्रालयमा बजेट माग गरेको आरोप छ। ठेकेदारसँग मिलेमतो गर्दै गुणस्तरहीन मेसिन स्वीकार गरिएको अख्तियारको भनाइ छ। एमआरआई मेसिनको प्रोसेसर क्षमतासमेत तोकिएकोभन्दा कमजोर रहेको खुलेको छ, तर त्यो यथावत् रूपमा स्वीकार गरिएको हो।
भण्डारी हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छिन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा २० पटक मन्त्री भइसकेका शरत सिंह भण्डारीकी बहिनी हुन्। राजनीतिक संरक्षणकै कारण यस्तो ठूलो अनियमितता सम्भव भएको हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।


























