प्रहार समाचार । तनहुँ, २३ असोज २०८२ बिहीवार । तनहुँको म्याग्दे गाउँपालिका–७ सेराफाँटस्थित पृथ्वीराजमार्गमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुबै घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना आज साँझ ७:४५ बजे भएको हो।

तनहुँको बेलचौतारास्थित पृथ्वीराजमार्गमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ग १० प ८४६५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री काठमाडौँ चन्द्रागिरी नगरपालिका–३ निवासी २२ वर्षीय अनिष खत्री घाइते भएका हुन्।
घाइते खत्रीको दुबै खुट्टामा भित्री चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ। हाल उनी बेलचौतारास्थित जीपी कोईराला राष्ट्रिय स्वास–प्रस्वास उपचार केन्द्रमा उपचाररत छन्। उपचारमा घाइतेका दाजु आयुष खत्री संलग्न रहेका छन्।मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–२७ लेखनाथका २४ वर्षीय गणेश पौडेल पनि दुर्घटनामा घाइते भएका छन्। उनको बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ। प्रहरीद्वारा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। सवारीसाधनको लापरवाही तथा तीव्र गतिका कारण यस्ता दुर्घटनाहरू बढ्न थालेका स्थानीयले बताएका छन्।




















