प्रहार समाचार । काठमाडौँ, २४ असोज २०८२ शुक्रवार । देशका पश्चिमी भूभागमा हाल पश्चिमी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागहरूमा यसको प्रभाव विशेष रूपमा देखिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भेगमा पनि आंशिक असर परेको विभागले जनाएको छ। बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर रहेको बताइएको छ।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई तथा समथर भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
यही अवस्था राति पनि जारी रहने देखिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना छ भने अन्य क्षेत्रमा मौसम सामान्य रहनेछ। विभागले सम्भावित वर्षाका कारण सावधानी अपनाउन सुझाव दिएको छ।




















