हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

हरियो फर्सी, काँक्रो र घिरौँलामा उच्च विषादी : स्वास्थ्य संकटको संकेत

• बिजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । काठमाडौँ, २३ असोज २०८२ बिहीवार । काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएका हरियो फर्सी, काँक्रो र घिरौँलामा मानव स्वास्थ्यका लागि हानिकारक अत्यधिक विषादी भेटिएको छ। सरकारी मापदण्डभन्दा बढी विषादी भेटिएपछि ती तरकारी उपभोग अयोग्य घोषित गरिएको छ ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हालै गरिएको परीक्षणमा हरियो फर्सी, काँक्रो र घिरौँलामा ५० प्रतिशतभन्दा बढी ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो। केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटीका १५ पसलबाट संकलन गरिएको १५ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा उक्त तथ्य पत्ता लागेको हो ।


परीक्षण अनुसार मकवानपुरबाट ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ प्रतिशत र काठमाडौंमै उत्पादन भएको काँक्रोमा ५२.९२ प्रतिशत विषादीको अवशेष देखिएको हो। यो मात्रा सरकारले तोकेको अधिकतम सहनशील सीमाभन्दा धेरै माथि भएकाले यी तरकारी उपभोग अयोग्य ठहरिएका छन् ।

सरकारी मापदण्ड अनुसार कुनै पनि तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यो मानव उपभोगका लागि अयोग्य मानिन्छ। यसरी दैनिक उपभोग हुने तरकारीमा यति धेरै विषादी पत्ता लाग्नु उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने विषय भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।


विषादीको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा क्यान्सर, मिर्गौला तथा मुटु रोगजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्ने विज्ञहरू बताउँछन्। यस्तो अवस्थामा उत्पादनदेखि बजारसम्मको निगरानीलाई कडा पार्नुपर्ने, र उपभोक्ताले पनि तरकारी उपभोग गर्नु अघि सावधानी अपनाउनुपर्ने आवश्यकता बढेको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button