प्रहार समाचार । काठमाडौँ , २३ असोज २०८२ बिहीवार । गृह मन्त्रालयमा आज बसेको सुरक्षा प्रमुखहरूको बैठकमा देशमा देखा परेका चार प्रमुख सुरक्षा चुनौतीबारे छलफल भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी तथा त्यसको काउन्टरमा परेको निवेदनले उत्पन्न गर्न सक्ने परिस्थितिबारे समीक्षा गरिएको हो।

बैठकमा निर्वाचन मिति घोषणा भएपछिको सुरक्षा रणनीति, ‘जेन-जी’ समूहको सम्भावित प्रदर्शन, र राजनीतिक नेताहरूका उत्तेजक अभिव्यक्तिबाट सिर्जना हुन सक्ने जोखिमबारे गम्भीर छलफल भएको थियो। सहभागी निकाय प्रमुखहरूले संवेदनशील परिस्थिति नियन्त्रणका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।
गृह मन्त्रालयले यस्ता संवेदनशील मुद्दाहरूमा समयमै कदम चाल्न सुरक्षासंस्था बीच समन्वय आवश्यक रहेको बताउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। निकट भविष्यमा सुरक्षालाई चुनौती दिने गतिविधि हुन सक्ने आँकलनसहित मन्त्रालयले रणनीतिक तयारी तीव्र पार्ने निर्णय गरेको छ।
























