प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ मङ्गलवार । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनका क्रममा घुसपैठ हुँदा देशभर भएका आगजनी र तोडफोडका घटनाबाट बीमा क्षेत्रमा अहिलेसम्मकै ठूलो दाबी परेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४ सय ७८ वटा आवेदन दर्ता भइसकेका छन्, जसको कूल रकम २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर रहेको छ। तीमध्ये निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट भएको क्षतिको दाबी प्रमुख रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी बिमा दाबी बागमती प्रदेशमा परेको छ, जहाँ १ हजार ३ सय ४३ वटा आवेदनमार्फत करिब १७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। अन्य प्रदेशहरूमध्ये कोशीमा ३ सय २२, मधेशमा २ सय ४६, गण्डकीमा १ सय ८४, लुम्बिनीमा २ सय २, सुदूरपश्चिममा १ सय ५९ र कर्णालीमा २२ वटा बीमा दाबी परेका छन्। कम्पनीगत विवरण अनुसार ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब २२ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
बीमा दाबीको वर्गीकरणमा १,७७८ वटा मोटर बीमा, ५ सय ३८ वटा सम्पत्ति बीमा, १ सय ३२ वटा इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा, ११ वटा परिवहन बीमा र १९ वटा अन्य दाबी परेका छन्। प्राधिकरणले हालै दिएको जानकारी अनुसार ठूलो मात्रामा भौतिक संरचनामा क्षति भएकाले दाबीको संख्या र रकम आगामी दिनमा अझै बढ्न सक्ने अनुमान गरिएको छ।


























