प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ मङ्गलवार । आज दिउँसो देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने तराईका एक–दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेकोले त्यहाँका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। भारी वर्षाले पहिरो, बाढी तथा अन्य विपद् निम्त्याउन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेको छ। रातिको समयमा देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।















