हार समाचार । काठमाडौँ, ५ असोज २०८१ आइतवार ।
वर्तमान जटिल सुरक्षा परिवेश तथा चाडपर्वको अवसरलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमामा आफ्नो सुरक्षा व्यवस्था थप कडा बनाएको छ। बलको केन्द्रीय प्रवक्ताको कार्यालय, स्वयम्भू हल्चोक, काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गर्दै खुल्ला सीमाबाट हुन सक्ने चोरी तस्करी, घुसपैठ तथा सीमा अतिक्रमण नियन्त्रणमा आफू पूर्ण रूपले कटिबद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार, सशस्त्र प्रहरी बल अन्तर्राष्ट्रिय सीमामा खटिएका समकक्षी सुरक्षा निकायहरुसँग समन्वय गर्दै सतर्कतापूर्वक परिचालनमा रहेको छ। सीमामा शान्ति सुरक्षा कायम गर्न, अवैध क्रियाकलाप नियन्त्रण गर्न तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निगरानीमा बल निरन्तर लागिरहेको छ।
जनतासँग सशस्त्र प्रहरीको अपिल
चाडपर्वको समयमा आपराधिक समूहहरूले खुला सीमाको अनुचित फाइदा उठाउने सम्भावनालाई ध्यानमा राख्दै, सशस्त्र प्रहरीले कुनै पनि किसिमको अवाञ्छित गतिविधि देखे वा थाहा पाएमा तुरुन्त जानकारी दिन सर्वसाधारणमा अपिल गरेको छ। विशेष गरी यदि प्रहरीकै कुनै कर्मचारी अवैध गतिविधिमा संलग्न रहेको देखिएमा पनि सूचना दिन सकिनेछ।
यसका लागि सशस्त्र प्रहरी बलले निम्न माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ:
हटलाइन नम्बर: ९८५१२६१२०० (SMS, WhatsApp, Viber मार्फत म्यासेज वा फोन)

टोल फ्री नम्बर: १११४
सशस्त्र प्रहरी बल, नेपालको भनाइ:
“राज्यद्वारा सुम्पिएको प्रमुख कार्य–दिशाअन्तर्गत सीमा सुरक्षामा सशस्त्र प्रहरी बल आफ्नो जिम्मेवारीबाट बिचलित नभई अझै सशक्त र प्रभावकारी रूपमा परिचालन भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले देशको सीमामा शान्ति, सुरक्षा र संप्रभुता सुनिश्चित गर्न नागरिक सहयोग अपरिहार्य रहेको भन्दै नागरिक सचेतना र सहयोगको अपेक्षा राखेको छ।

























