• बिजय अधिकारी ( संवाददाता ) लमजुङ, ३ असोज २०८१ शुक्रवार । जेनजी पुस्ता आन्दोलनको मौका छोपी फरार भएका ३९ जना कैदी र थुनुवालाई लमजुङ प्रहरीले नियन्त्रणमा लिएको छ। फरारमध्ये अधिकांश लमजुङकै बासिन्दा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई कास्की, तनहुँ, काठमाडौं र चितवन कारागारमा पुन: पठाइएको छ।
फरार हुनेमध्ये कास्की कारागारका २४ जना, तनहुँका १३ जना र काठमाडौं तथा चितवन कारागारका एक–एक जना रहेका छन्।डीएसपी बोहराका अनुसार, भदौ २६ र २७ गते ११ जना, २८ गते १८ जना, २९ गते ६ जना र भदौ ३० गते ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

“सूचनाका आधारमा उनीहरूकै गाउँघर र सहरबजारबाट पक्राउ गरी सम्बन्धित कारागारमा पठाएका हौं,” डीएसपी बोहराले प्रहारसँग बताए।
लमजुङ जिल्ला कारागार असार महिनामा अविरल वर्षाका कारण भत्किएपछि कैदी–थुनुाहरूलाई वैकल्पिक रूपमा कास्की र तनहुँका कारागारमा सारिएको थियो। त्यस क्रममा कैयौँले जेनजी पुस्ता आन्दोलनको दुरुपयोग गर्दै कारागारबाट भागेका थिए।
प्रहरी स्रोतका अनुसार, अधिकांश कैदी–थुनुवा घरमै लुकेर बसेको अवस्थामा फेला परेका थिए।

























