•बिजय अधिकारी ( संवाददाता) लमजुङ, ३ असोज २०८२ शुक्रवार । लमजुङ जिल्लामा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई हिंजो सम्मान गरिएको छ।

जिल्लामा उच्चतम ४.०० जीपीए ल्याएर प्रथम स्थान प्राप्त गर्ने कुशुमाकर माध्यमिक विद्यालय, रामबजारकी सदिक्षा अधिकारी र फ्युचर स्टार माध्यमिक विद्यालय, भोटेओडारका सौजन्य अधिकारीलाई प्रथम पुरस्कार प्रदान गरिएको हो। उनीहरुले जनही ७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै, ३.९७ जीपीए सहित दोस्रो स्थान प्राप्त गर्ने इशानेश्वर माध्यमिक विद्यालय, भोर्लेटारका सचिन वि.क. ले ५ हजार रुपैयाँ पुरस्कार पाए। तेस्रो स्थानमा भने जनकल्याण मावि, उदीपुरकी अनुपा जोशी र युनिभर्सल एकेडेमीकी प्राप्ती सुयँल परे, जसले जनही ३ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रममा विद्यार्थी मात्र होइन, उनीहरूका विद्यालयका प्रधानाध्यापक तथा संस्थापकलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुने शिक्षकमध्ये विरभक्ति माविका प्रअ नुरमहोमद मिया, युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारी, कुशुमाकर माविका प्रअ ध्रुव घिमिरे र फ्युचर स्टार माविका संस्थापक बाबुराम पौडेल छन्।

जिल्ला विकास तथा समन्य इकाइद्वारा आयोजित कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल , जिल्ला समन्वय अधिकारी महेश सुवेदी, कोष तथा लेखा नियन्त्रक भवराज जोशी, शसस्त्र प्रहरी प्रमुख शेखर दवाडी, जनस्वास्थ्य प्रमुख प्रविणकुमार खनाल लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा समन्वय इकाइ प्रमुख पूर्ण बहादुर गुरुङ, शिक्षा समन्वय इकाइ प्रमुख दिवाकर शर्मा, विकास कार्यालयकी सिर्जना अधिकारी लगायतले आ- आफ्नो धारणा राखेका थिए । जिल्लाबाट २ हजार ८ सय ११ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए, जसमा ६४.३९ प्रतिशतले सफलता प्राप्त गरेका थिए ।


























