प्रहार समाचार । काठमाडौं, ३ असोज २०८२ शुक्रवार । आज संविधान जारी भएको एक दशक पूरा भएको छ । यस अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विविध कार्यक्रमका साथ मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँको टुँडिखेलमा आयोजित मूल समारोहमा प्रधानमन्त्री, मन्त्री परिषद् सदस्य, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सरकारले संविधान दिवसलाई देशको ऐतिहासिक राजनीतिक उपलब्धिको प्रतीकका रूपमा मनाउन आह्वान गरेको छ। सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले समारोहलाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमार्फत् छ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने स्पष्ट पारिन्। उनले निर्वाचन सफल पार्न सबै राजनीतिक शक्ति र नागरिकसँग सहकार्यको अपिल समेत गरिन्।

प्रधानमन्त्री कार्कीले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहेको उल्लेख गर्दै नागरिकबाट पनि संविधान र लोकतन्त्रप्रतिको कर्तव्य निभाउन आग्रह गरिन्। उनले पछिल्लो समय देखा परेको ‘जेनजी’ आन्दोलनलाई देशमा व्याप्त भ्रष्टाचारप्रति असन्तुष्टिको स्वरूप भन्दै यसलाई लोकतान्त्रिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरिन्।
नेपाली जनताबाट निर्वाचित संविधानसभामार्फत् २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो। सो ऐतिहासिक क्षणमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित नेपालको संविधान घोषणा गरेका थिए। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको औपचारिक घोषणा गरेको थियो । संविधान दिवसका अवसरमा आज देशभर सरकारी तथा गैरसरकारी निकायहरूले विविध कार्यक्रम आयोजना गरेका छन् ।

























