हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

बडादशैं २०८२ का साइत सार्वजनिक : घटस्थापनादेखि टीका लगाउने उत्तम समयसम्म निर्धारण

प्रहार समाचार । काठमाडौं, १ असोज २०८२ बुधवार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैं २०८२ सालका शुभ साइतहरू सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित आधिकारिक पत्रमार्फत घटस्थापनादेखि लिएर विजया दशमीका मुख्य कार्यहरूका साइत निर्धारण गरिएको हो।

प्राप्त विवरणअनुसार, यस वर्षको घटस्थापना असोज ६ गते सोमवारका दिन बिहान ९ बजेर १३ मिनेटमा हुनेछ। सोही दिनदेखि नवरात्रको आरम्भ हुने जनाइएको छ।

त्यसपछिका मुख्य साइतहरू यसप्रकार रहेका छन्:

असोज ७ गते मङ्गलवार, बिहान ९:५३ बजे झण्डा फेर्ने साइत रहेको छ। यस दिन झण्डा पूर्व मोहडामा फेर्नुपर्ने उल्लेख छ।

असोज ११ गते शनिवार श्रीपचली भैरव यात्रा हुनेछ।

असोज १३ गते सोमवार, फूलपातीको दिन श्री तुलजाभवानीको यात्रा बिहान ७:१७ बजे हुनेछ भने, स्थिरासनको समय बिहान ९:२३ बजे तोकिएको छ।

असोज १४ गते मङ्गलवार महाष्टमी तथा कालरात्रिको पूजाका लागि मानिएको छ।

असोज १५ गते बुधवार महानवमी मनाइनेछ।

यस वर्षको विजया दशमी (टीका) असोज १६ गते बिहीवार परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। पञ्चाङ्ग समितिका अनुसार टीका लगाउँदा अनुहार पूर्वतर्फ फर्काउने निर्देशन दिइएको छ।

सोही दिन दिवा १२:१९ बजे श्री तुलजाभवानी यात्रा हुनेछ भने, स्थिरासनको साइत दिवा १:१७ बजे रहेको छ। त्यसपछि खड्गयात्रा समेत हुने जनाइएको छ।

बडादशैंपछिका अन्य विशेष दिनहरूमध्ये, असोज २० गते सोमवार अखिलबलिपूर्ति तथा कोजाग्रत व्रत (पूर्णिमा) पनि यही दिन पर्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस्ता साइतहरू चाडपर्वहरूलाई परम्परागत विधिपूर्वक मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सार्वजनिक गर्ने गरेको छ। यस्ता साइतहरूको पालना विशेषगरी धार्मिक कार्य र पूजापाठमा विशेष महत्व राख्ने गर्दछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button