प्रहार समाचार । तनहुँ, १ असोज २०८२ बुधवार । तनहुँ जिल्ला प्रशासन कार्यालयमा मिति २०८२ भदौ २३ र २४ गते घटेका दुखद घटनाका क्रममा भएको तोडफोड र आगजनीका कारण कार्यालयका भौतिक संरचना, उपकरण, फर्निचर र महत्वपूर्ण अभिलेखहरू जली नष्ट भएका छन्। यसले कार्यालयको नियमित सेवा प्रवाहमा ठूलो प्रभाव पारेको छ।

कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी सूचनामा जनाइएअनुसार, विषम परिस्थितिमा पनि सेवा प्रवाहलाई यथासक्य नियमित बनाउन अधिकतम प्रयास भइरहेको छ। हालका लागि केही सेवा सुचारु भइसकेका छन् भने केही सेवा आवश्यक सामग्री र उपकरण प्राप्त भएपछिमात्र सञ्चालन हुने जनाइएको छ।
सूचना अनुसार, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। साथै, मिति २०८२ असोज २ गतेदेखि नयाँ नागरिकता र नागरिकता प्रतिलिपि सम्बन्धी सेवा पुनः सुरु गरिनेछ। यसबाहेक, आदिवासी/जनजाती, दलित, खस आर्य तथा मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणित सम्बन्धी सेवाहरू पनि सुचारु भइसकेका छन्।
राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू तत्कालका लागि कार्यालयबाट उपलब्ध नभए पनि, अत्यावश्यक परेमा सम्बन्धित विभागहरूबाट जानकारी लिन सकिने व्यवस्था गरिएको छ। राहदानीका लागि राहदानी विभागको सम्पर्क नम्बर ०१-५९७०३३०, र राष्ट्रिय परिचयपत्रका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सम्पर्क नम्बरहरू ०१-४२०००१४, ०१-४२११५६३ र सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३५७३६२ उपलब्ध गराइएको छ।

कार्यालयमा आवश्यक कम्प्युटर र उपकरणहरू पुनः प्राप्त भएलगत्तै अन्य सेवा पनि क्रमशः सुचारु गरिने जानकारी दिइएको छ। साथै, सेवा प्रवाह सम्बन्धी थप जानकारी कार्यालयले नियमित सूचना प्रकाशनमार्फत उपलब्ध गराउने बताइएको छ।


























