प्रहार समाचार । काठमाडौं, १ असोज २०८२ बुधवार । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक शोक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै असोज १ गते देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने जानकारी दिएको हो। साथै, आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
सरकारको निर्णय अनुसार देशभर शोकको वातावरणमा आज कुनै औपचारिक सरकारी कार्यक्रमहरू आयोजित गरिएको छैन। गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप आज नेपालभर सार्वजनिक बिदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको हो।” विदेशमा रहेका सबै नेपाली नियोगहरूले पनि यही निर्देशन पालना गर्नेछन् ।


























