प्रहार समाचार । काठमाडौँ, ३१ भदौ २०८२ मङ्गलवार । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि भिजिट भिसा वितरण सोमबारदेखि अस्थायी रूपमा रोकेको छ। यसबारे युएई सरकारले आधिकारिक सूचना सार्वजनिक नगरे पनि भिसा सेवा प्रदायक एजेन्सीहरूले आवेदन लिन बन्द गरिसकेका छन्।

भदौ २४ गतेको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा जेलबाट फरार भएको समाचार सार्वजनिक भएपछि युएईले यस्तो कदम चालेको जनाइएको छ।
युएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा रोकिएको जानकारी अनौपचारिक रूपमा पाएको तर औपचारिक सूचना प्राप्त नभएको बताएका छन्। उनले यसबारे थप जानकारी लिन दूतावास सक्रिय रहेको बताए।
दूतावासका अनुसार हाल करिब आठ लाख नेपाली युएईमा कार्यरत छन् भने करिब तीन लाख नेपालीले भिजिट भिसालाई रोजगारी भिसामा परिवर्तन गरेका छन्।
नेपालबाट भिजिट भिसा लिने सर्वाधिक गन्तव्य पनि युएई नै हो।


























