प्रहार समाचार । काठमाडौँ, ३१ भदौ २०८२ मङ्गलवार । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन ११ गतेबाट सुरु हुने निर्वाचनमार्फत सत्ता हस्तान्तरण गर्ने दिन आफूलाई “पखेटा पलाएजस्तो” महसुस हुने बताएकी छन्।

प्रधानमन्त्री कार्कीले समाज र आन्दोलनकारीहरूको दबाबका कारण सरकार निर्वाचन सम्पन्न गर्न बाध्य रहेको स्पष्ट पार्दै, चुनाव सम्पन्न गर्नु आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखिन्।
उनले भने, “हामीले अनिवार्य रूपमा निर्वाचन सक्न चाहन्छौँ। समाज र आन्दोलनकारीहरूले बाध्य पारेका छन्। त्यसकारण निर्वाचन गरेर ह्यान्डओभर गर्ने दिन मलाई पखेटा पलाएजस्तो लाग्नेछ।”
भ्रष्टाचार अनुसन्धानबारे पनि प्रधानमन्त्री कार्कीले कडा प्रतिबद्धता जनाउँदै भनिन्, “जबसम्म भ्रष्टाचारको अनुसन्धान हुँदैन, तबसम्म देश निकासमा पुग्दैन। हामीले अनुसन्धान गरेर कारबाही गर्ने छौँ।”

त्यस्तै, मन्त्रीपरिषद् विस्तारबारे छलफल हुँदा आफूले ‘बृहत् मन्त्रीमण्डल’ आवश्यक नदेखेको पनि उनले प्रस्ट्याएकी छन्।


























