• बिजय अधिकारी ( संवाददाता) काठमाडौँ, ३० भदौ २०८२ सोमवा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ‘हेलो सरकार’मार्फत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कार्यालय समयमा विद्यालय पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको भन्ने गुनासो प्राप्त भएको थियो।
उक्त गुनासोका आधारमा मन्त्रालयले विद्यालयका शिक्षक र कर्मचारीबाट बालबालिकाको मनोविज्ञानमा प्रत्यक्ष असर पार्ने खालका गतिविधिहरू रोक्न विशेष ध्यान दिन आग्रह गरेको हो। मन्त्रालयले विद्यालय पोशाक र कार्यालय समयको महत्त्वलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा शिक्षण पेशासँग मेल नखाने सामग्री नहाल्न स्पष्ट रूपमा सचेत गराएको छ।

शिक्षा मन्त्रालयले जारी सूचना मार्फत शिक्षकको व्यवहार र प्रस्तुतिले विद्यार्थीमा गहिरो प्रभाव पार्ने भएकाले विद्यालय पोशाकमा गरिने सामाजिक सञ्जाल प्रयोगमा संयमता अपनाउन आग्रह गरेको हो। यस प्रकारका गतिविधिले शिक्षकको गरिमा र शिक्षण पेसाको नैतिक मूल्यमा प्रश्न उठ्न सक्ने भन्दै मन्त्रालयले सबै शिक्षक तथा कर्मचारीलाई पेसागत मर्यादा पालन गर्न अनुरोध गरेको छ।

























