प्रहार समाचार । काठमाडौ, ३० भदौ २०८२ सोमवार । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा तीन नयाँ मन्त्री नियुक्त गरेका छन्। कुलमान घिसिङ ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्री, रामेश्वर खनाल अर्थ, र ओमप्रकाश अर्याल कानुन तथा गृहमन्त्रीमा नियुक्त भएका हुन्। यी तीनै मन्त्रीले आज राष्ट्रपति समक्ष शपथ लिनेछन्।

शुक्रबार मात्र प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको प्रारम्भिक टोली घोषणा गर्दै तीन अनुभवी व्यक्तित्वलाई मन्त्री बनाएकी हुन्। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको बागडोर दिइएको छ। खनालले हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षको नाताले सरकारलाई प्रतिवेदन बुझाएका थिए।
त्यसैगरी, कानुन व्यवसायी ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयसँगै गृहमन्त्रीको समेत जिम्मेवारी दिइएको छ। अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकारसमेत हुन्। बाँकी मन्त्रालयका लागि सरोकारवालासँग छलफल जारी रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै कार्कीले आइतबार मात्र कार्यभार सम्हालेकी थिइन्।

























