प्रहार समाचार । काठमाडौं, ३० भदौ २०८२ सोमवार । गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ भने काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पनि यी प्रदेशका केही स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनीलगायत पहाडी भू–भागका धेरै र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारी वर्षा र गण्डकी–लुम्बिनीका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

























