• बिजय अधिकारी (सिंवाददाता ) काठमाडौँ, २९ भदौ २०८२ आइतवार । ‘जेन जी’ पुस्ता आन्दोलनको क्रममा रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुचारु भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आइतबारदेखि भुक्तानी प्रणाली सञ्चालनमा आएसँगै दशैँअघि नै सरकारी कर्मचारीहरूले तलब, भत्ता प्राप्त गर्न सक्ने अवस्था बनेको छ।

‘केही दिनदेखि असहज परिस्थितिका कारण रोकिएको भुक्तानी प्रणाली आइतबारदेखि पुनः सञ्चालनमा आएको छ,” प्रवक्ता पाण्डेयले जानकारी दिए। उनका अनुसार अब कर्मचारीहरूले तलब र भत्ता समयमै पाउनेछन्।
साथै, राजस्व सङ्कलनको काम पनि आइतबारदेखि पुनः सुरु भएको छ। आन्दोलनका क्रममा क्षति पुगेका अधिकांश भन्सार कार्यालय पुनः सञ्चालनमा आइसकेका छन् भने केही आन्तरिक राजस्व कार्यालयहरू पनि क्रमशः सञ्चालनमा फर्किरहेका छन्।
अर्थ मन्त्रालयका अनुसार आन्दोलनका क्रममा देशभरका १४ आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको थियो। तीमध्ये ४ आन्तरिक राजस्व कार्यालय र ४ भन्सार कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
पूर्ण रूपमा क्षति भएका केही कार्यालयबाहेक अन्य सबै कार्यालय सञ्चालनमा आइसकेका छन्, जसले सरकारको राजस्व सङ्कलन कार्यमा पुनः गति लिएको देखिन्छ।
सरकारले दशैँको चापलाई मध्यनजर गर्दै भुक्तानी प्रणाली तत्काल सुचारु गर्न कदम चालेको र कर्मचारीलाई चाडपर्वमा आर्थिक सहजता पुर्याउने प्रयास गरिएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे।


























