• बिजय अधिकारी ( संवाददाता ) लमजुङ , २९ भदौ २०८२ आइतवार । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ स्थित छोटेखोला सडक खण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। ताजेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ७५५५ नम्बरको बोलेरो जिप बिहान ९:३० बजे अचानक ब्रेक फेल भएपछि सडकबाट अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा परेर दोर्दी गाउँपालिका–६, ताजेगाउँका ४४ वर्षीया मैती कुमारी तामाङ, ५८ वर्षीय लालबहादुर तामाङ, २३ वर्षीय नबिन्द्र घले, २१ वर्षीय घिसे लामा, ३४ वर्षीया हरिमाया तामाङ, ३० वर्षीया खुसी माया घले र ४२ वर्षीय ठगम घले घाइते भएका हुन्।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको र बाँकी चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राज किशोर साहले जानकारी दिए। उनीहरूको उपचार अहिले लमजुङस्थित प्रदेश अस्पतालमा भइरहेको छ।
दुर्घटनापछि बोलेरो जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको जनाइएको छ। स्थानीय सडकहरू साँघुरा र जोखिमपूर्ण रहेकाले यात्राका क्रममा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।


























