
३० भदौ २०८२ सोमवार ।
अँध्यारो सुरुङ जति लामो भएपनि
अन्त्यमा उज्यालो भेटिन्छ
नत्र मान्छे किन हिँडिरहन्थ्यो !
रात गहिरिन्छ र त रातमै उदाउँछन् उज्याला ताराहरू
ताराहरू छन् र त
छातीमा पनि तारा जस्तै उज्यालो धुकधुकी बाँचिरहन्छ !
जो कसैको पनि क्षमता जति होस्
परिणाममा उसको सामर्थ्य जाँचिन्छ
नत्र राम्रो र नराम्रोको परिभाषा किन बन्थ्यो र ?
कोही मान्छे कसैसँग दाँजिन्न
प्रत्येकको प्रतिस्पर्धी ऊ आफैँ हो
आाफैँ हो र त मान्छे
लगातार लगातार काम गरिरहन्छ !
व्यक्तिलाई फुर्सद भएन भन्दैमा
घडीले घुम्न छोड्दैन
घडीले घुम्न छोडे पनि समय कहाँ रोकिन्छ र !
चेतनाको जगमा उभिनेहरू खरानीमै सुन फुलाउँछन्
कति पटक जलेको छातीमा
मैले पनि त आशा उमारिरहेको छु !
राष्ट्रको जीवन व्यक्तिको जस्तो छोटो हुँदैन
मेरो देश
सभ्यता शुरुवातदेखिकै देश हो !
अँ, एउटा कुरो !
गरिबको एक एक गाँस लुटेको सम्पत्तिमा आगो लाग्दा कस्तो हुँदो रहेछ ?
ए, सुन त
खरानीको पिण्ड बनाएर आफ्नै सोह्रश्राद्ध गर
तर यति चाहिँ सम्झ
श्राद्ध भइसकेको मान्छे
समाजमा फर्किन मिल्दैन !

























