प्रहार समाचार । काठमाडाैं, २९ भदौ २०८२ आइतवार । भदौ २३ र २४ गते ‘जेन जी’ पुस्ताको नेतृत्वमा देशव्यापी रूपमा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले यो विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार आन्दोलनको क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी कुल ७२ जनाको ज्यान गएको छ। मुख्यसचिव अर्यालले आन्दोलनमा मृत्यु भएका सबैको परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन्। साथै, आन्दोलनमा घाइते भएकाको नि:शुल्क उपचारको व्यवस्था सरकारले गर्ने निर्णयसमेत भएको छ।
निजामती प्रशासन जनताको मागअनुसार काम गर्न तयार रहेको उल्लेख गर्दै मुख्यसचिव अर्यालले आन्दोलनपछि राज्य र नागरिकबीचको सम्बन्ध नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
शुक्रबार राति राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार पदभार ग्रहण गर्दै सरकारका सबै निकायलाई छिटो निर्णय लिन र जनतालाई उत्तरदायी हुन निर्देशन दिएकी छन् ।
कार्कीले सरकारको नेतृत्व लिएपछि ६ महिनाभित्र नयाँ चुनाव गराएर आफू बिदा हुने सोच रहेको स्पष्ट पार्दै त्यसमा सरकारी कर्मचारीको पूर्ण सहयोग अपेक्षा गरेकी छिन्।
सरकारले आन्दोलनप्रति गम्भीर चासो लिँदै त्यसका कारण ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्दै तत्कालीन राहत तथा दीर्घकालीन न्यायका प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।


























