प्रहार समाचार । काठमाडौँ, २९ भदौ २०८२ आइतवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी नेतृत्वको आलोचना गर्दै पार्टी परित्याग गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेपछि आफू निरन्तर आलोचक बनेको तर त्यसको कुनै प्रभाव नपरेको उल्लेख गरेकी छन्।

श्रेष्ठले पार्टीभित्र गल्ती स्वीकार्ने संस्कार नरहेको, बरु गल्तीमाथि गल्ती थपिने प्रवृत्ति देखिएको बताउँदै नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन्। उनले रास्वपाभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल हुने गरेको आरोप समेत लगाएकी छन्। यसअघि सहमहामन्त्री पदबाट राजीनामा दिइसकेकी श्रेष्ठले अन्ततः “आई क्विट” भन्दै पार्टी छाडेको घोषणा गरेकी हुन्।
पार्टी नेतृत्वको व्यवहारले लोकतान्त्रिक मूल्य र आन्तरिक आलोचना सहन सक्ने संस्कारको अपमान भएको उल्लेख गर्दै उनले अन्य पुराना दलहरूका तेस्रो पुस्ताका नेताहरूलाई पनि नेतृत्व परिवर्तनबारे गम्भीर भएर सोच्न आह्वान गरेकी छन्। “आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि हटाउनुहोस्, कि हट्नुहोस्,” भन्दै श्रेष्ठले कडा सन्देश दिएकी छन्। हेरौं उनको सामाजिक संञ्जालमा आफूले रास्वपा छाडेको / लेखेका कुरा :



























