प्रहार समाचार । काठमाडौँ, २९ भदौ २०८२ आइतवार ।आजदेखि मनसुन पुनः सक्रिय बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा भारततर्फ सरदर स्थानमा अवस्थित रहेकाले वर्षाको प्रभाव तीव्र देखिएको हो।

मनसुन सक्रिय भएकाले मधेश, लुम्बिनी लगायत पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ। दिउँसो र राति देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी भूभागका केही र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


























