प्रहार समाचार । काठमाडौं, २४ भदौ २०८२ मङ्गलवार । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भएको दमनको पूर्ण जिम्मा लिएर तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको दमनकारी कदमप्रति कडा आलोचना गर्दै भनेका छन्, “रातभर सुत्न सकिनँ। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको क्रुर दृश्य बारम्बार आँखामा गुडिरहेको छ।”

महामन्त्री थापाले सरकारमा सत्ता साझेदार रहेको नेपाली कांग्रेसलाई पनि तत्कालै सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्। उनले भनेका छन्, “अब नेपाली कांग्रेसले एक दिन पनि यो परिस्थितिको साक्षी र साझेदार भएर बस्नु हुँदैन, सक्दैन। पार्टीको बैठकबाट तत्कालै सरकारबाट फिर्ता हुने निर्णय गराउनेछु।”
यसअघि पनि देशभर विरोध प्रदर्शन भइरहेका बेला सुरक्षा निकायले कडा दमन गरेका थिए, जसका कारण युवा र सर्वसाधारणमा व्यापक आक्रोश फैलिएको छ। राजनीतिक विवाद र हिंसात्मक घटनाले सरकारको विश्वसनीयता र संवैधानिकताको प्रश्न उब्जाएको छ।

























