प्रहार समाचार । तनहुँ, २४ भदौ २०८२ मङ्गलवार । जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकाको चार किल्लाभित्र प्रदर्शन, जुलुस, धर्ना, सभा तथा अन्य विरोधका कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार निषेधाज्ञा जारी गरिएको जानकारी गराएका छन्।

जारी आदेशमा पाँच जनाभन्दा बढीको जमघट गरेर हुने कुनै पनि विरोध प्रदर्शन, सभा, अनशन, धर्ना वा घेराउ गर्न रोक लगाइएको छ। उक्त आदेश उल्लङ्घन गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने समेत बताइएको छ। निषेधाज्ञा लागू क्षेत्र पूर्वतर्फ रेडक्रस सोसाइटी जिल्ला शाखा, उत्तरतर्फ उद्योग वाणिज्य सभाहलदेखि प्रशासन गेटसम्म र भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रदेखि प्रदेश जनस्वास्थ्य कार्यालय छिर्ने गेटसम्मको सडक क्षेत्र, पश्चिमतर्फ महर्षि वेद व्यास स्कुल तथा दक्षिणतर्फ व्यास आश्रमसम्मको क्षेत्र तोकिएको छ।

यस कदमबाट तनहुँमा शान्ति सुरक्षाको अवस्था कायम राख्न र सम्भावित प्रदर्शनबाट हुने अस्थिरतालाई रोक्न प्रशासनले यस्तो निर्णय लिएको बताइएको छ।

























