हेडलाईनव्याससमाचारगण्डकी

गण्डकी प्रदेशमै शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आदिकवि भानुभक्त क्याम्पस : ३९ औं वार्षिकोत्सव सम्पन्न

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८२ बुधवार । गण्डकी प्रदेशमै शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै तनहुँको व्यास नगरपालिका वडा नं- १ मा रहेको आदिकवि भानुभक्त क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले क्याम्पसलाई प्रदेशस्तरमै शैक्षिक उत्कृष्टताको नमूना बनाउने दाबी गर्दै सहकार्य, गुणस्तर, प्रविधि र अनुसन्धानमा थप लगानी आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको उद्घाटन पछि बोल्दै संघीय सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले क्याम्पसले तनहुँ मात्र होइन, गण्डकी प्रदेशको समग्र शैक्षिक रूपान्तरणमा योगदान पुर्‍याएको बताउँदै अब प्रविधिमैत्री, रोजगारमुखी र गुणस्तरीय शिक्षाको यात्रातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले शिक्षालाई व्यवहारिक बनाउँदै युवाहरुलाई आत्मनिर्भर बनाउने रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले क्याम्पसले प्रदेशस्तरका शैक्षिक नीतिहरूको कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। अर्का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री हरिबहादुर चमानले क्याम्पसलाई छिट्टै एक “मानक विश्वविद्यालय” मा रूपान्तरण गर्न आवश्यक आधार तयार गर्नुपर्ने धारणा राखे।

संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमन्त्री दोबाटे बी. क. लगायतले आ-आफ्ना मन्तव्य राख्दै क्याम्पसले स्थानीय तह, समुदाय र सरकारबीचको सहकार्यमा अझै मजबुत संरचना बनाउनुपर्ने बताए। उनीहरूले शिक्षालाई समावेशी, नवप्रवर्तनमुखी र अनुसन्धानकेन्द्रित बनाउँदै क्याम्पसलाई प्रदेशको अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सकिने बताए।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, निर्मल माविका प्र अ गणेशचन्द्र बस्नेत लगायतले आदिकवि क्याम्पस समुदायको रगत र पसिनाले निर्माण भएको संस्था भएकाले यसको साख, शुद्धता र गुणस्तर जोगाउनु सबैको साझा दायित्व भएको बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आर्थिक रूपमा कमजोर, अपाङ्ग, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिँदै क्याम्पसले गुणस्तरीय, समावेशी र रोजगारमुखी शिक्षामा विशेष जोड दिइरहेको उल्लेख गरे।

क्याम्पस प्रमुख महाप्रसाद हड्खले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा शैक्षिक सुधार, भौतिक पूर्वाधार विस्तार र अनुसन्धान प्रवर्द्धनका क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गरिएको थियो। सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र बिमल गिरीले क्याम्पसमा अनुसन्धान र उच्च शिक्षाको स्तर वृद्धि गर्न रणनीतिक हस्तक्षेप आवश्यक रहेको बताए।

त्यस अवसरमा सांसद भण्डारीले क्याम्पसद्वारा प्रकाशित ‘भानुश्री वार्षिक प्रतिवेदन २०८१/८२’ को विमोचन गरेका थिए । साथै क्याम्पसको शैक्षिक र भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button