प्रहार समाचार । काठमाडौँ, १५ भदौ २०८२ । देशभर मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहँदा वर्षाको गतिविधि बढ्दै गएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागरबाट जलवाष्पयुक्त हावा देशमा प्रवेश गर्न थालेपछि मौसममा व्यापक असर देखिएको हो।

आइतबार दिउँसो र राति देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती र अन्य प्रदेशका पहाडी तथा तराई भूभागमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षाका कारण पहिरो, डेब्रिज फ्लो, नदी–नालामा पानीको सतह वृद्धि र यातायातमा अवरोध आउन सक्ने चेतावनी दिएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
























