• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ , १० भदौ २०८२ मङ्गलवार । लमजुङको सुन्दरबजार नगरपालिका–९ खत्रीठाँटीमा हरितालिका तीजको अवसर पारेर आज आयोजित खुल्ला तीज गीत प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ । संयुक्त खस क्षेत्री नेपाल सुन्दरबजार नगर समितिको आयोजनामा भएको प्रतियोगितामा सहभागी महिलाहरूले गीतमार्फत देशमा बढ्दो महंगी, बेरोजगारी, भ्रष्टाचार, कुशासन लगायतका समसामयिक समस्या उजागर गरेका थिए ।

प्रतियोगितामा लमजुङ र तनहुँका १५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये नयाँ बजार आमा समूह, भोटेवडारले उत्कृष्ट प्रस्तुति गर्दै प्रथम स्थान हात पार्यो । विजेता समूहले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै भूपु लोटस मन्टेश्वरी सुन्दरबजार–९, सिउँडिबार द्वितीय, फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय सुन्दरबजार–९, सिउँडिबार तृतीय र लालिगुराँस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए । द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वना प्राप्त समूहलाई ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी पाउदी अन्तर आमा समूह, सुन्दरबजार–७ को प्रस्तुतिलाई उत्कृष्ट नृत्य घोषित गर्दै २ हजार रुपैयाँ पुरस्कार दिइयो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गरेका थिए । उनले यस्ता प्रतियोगिताले संस्कृतिको संरक्षण र जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउने बताए । विजयी टोलीलाई राइनस नगरपालिकाका निवर्तमान मेयर सिंहबहादुर थापा र आयोजक समितिका अध्यक्ष कृष्ण खड्काले पुरस्कार वितरण गरेका थिए ।

लोकगायक विवेक धितालको प्रस्तुति साथै महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई झन् आकर्षक बनाएको थियो, यद्यपि आयोजकहरूले समय व्यवस्थापनमा कमजोरी देखाएकाले अन्तिममा कार्यक्रम अव्यवस्थित देखिएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।

























