प्रहार समाचार । काठमाडौँ, ११ भदौ २०८२ बुधवार । नेपालमा मनसुन सक्रिय भइरहेका बेला आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकाले वर्षाको गतिविधि बढेको हो।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकीसहित पहाडी भूभागमा मध्यम वर्षा हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने संभावना उच्च छ। तराईका थोरै स्थानमा समेत वर्षा भई दैनन्दिन जीवन प्रभावित हुने अनुमान गरिएको छ।
आज राति पनि मौसम अस्थिर रहने देखिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्ने चेतावनी महाशाखाले जारी गरेको छ।

























