प्रहार समाचार । तनहुँ, १० भदौ २०८२ मङ्गलवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली सुरु भएपछि बिरामीको विगतदेखि वर्तमानसम्मका सम्पूर्ण विवरण चिकित्सकले सजिलै हेर्न सक्ने बताएका छन् ।

मन्त्री पौडेलले यस प्रणालीले एक्स–रे र ल्याब रिपोर्ट प्रत्यक्ष कम्प्युटरमै हेर्न मिल्ने भएकाले कागजी प्रक्रियाको झन्झट हट्ने र स्वास्थ्यकर्मी उपचारमा बढी केन्द्रित हुने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले यस प्रणालीले एक्स–रे र ल्याब रिपोर्ट प्रत्यक्ष कम्प्युटरमै हेर्न मिल्ने भएकाले कागजी प्रक्रियाको झन्झट हट्ने र स्वास्थ्यकर्मी उपचारमा बढी केन्द्रित हुने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले ईएमआर प्रणालीको शुभारम्भ गर्दै अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार भारत सरकारसँग सहकार्यमा नयाँ भवन निर्माणको सम्झौता चाँडै हुने छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले ईएमआर सुरु भएपछि टिकटिङ, बिलिङ, रिपोर्ट र औषधि वितरणसम्म सबै काम अनलाइन प्रणालीमार्फत सहज हुने बताए । “यसले उपचारमा त्रुटि कम गर्ने र बिरामीले छिटो सेवा पाउने अपेक्षा गरिएको छ,” उनले भने ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रमुख डा. राजेश साम्बाजिराव पाण्डवले नेपालका स्वास्थ्य संस्थामा प्रविधिमैत्री प्रणाली लागू गर्न डब्लुएचओ निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले र श्यामराजा महतले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँको मात्रै नभई राष्ट्रकै गौरव भएको भन्दै ईएमआर प्रणालीले स्वास्थ्य सेवाको स्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

शुक्लागण्डकी नगरप्रमुख कृष्णराज पण्डितले प्रविधियुक्त सेवा विस्तारले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने बताए । कार्यक्रम केन्द्रका अध्यक्ष डा. केशव ढकालको सभापतित्वमा समन्न भएको थियो ।
























