हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज तीज पर्व : धुमधामका साथ मनाइँदै

प्रहार समाचार । तनहुँ, १० भदौ २०८२ मङ्गलवार । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर पूजाअर्चना, व्रत र उत्साहका साथ मनाइँदैछ । पारिवारिक सुख–शान्तिदेखि आत्मसंरक्षणसम्मको सन्देश बोकेको यो चाड विदेशमा रहेका हिन्दु नारीहरुले पनि मनाउँदैछन् ।

आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनलाई सहज दर्शनको व्यवस्था मिलाउँदै पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि मूल मन्दिरका ढोका खोलिएको जनाएको छ । हिजो दर खाएर सुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म निरन्तर चल्नेछ ।

धार्मिक ग्रन्थअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले साथीहरूको सहयोगमा निराहार व्रत बसेर महादेवलाई पति स्वरूप प्राप्त गरेकी थिइन् । सोही दिनलाई स्मरण गर्दै भाद्र शुक्ल तृतीयामा तीज व्रत बस्ने परम्परा सुरु भएको विश्वास छ । ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्द मिलेर बनेको हरितालिका शब्द पनि सोही प्रसङ्गसँग जोडिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार तीज केवल श्रीमान्को दीर्घायुका लागि सीमित छैन । अटल सौभाग्य, सन्तान प्राप्ति, असल वर–वधु प्राप्ति र समग्र परिवारको कल्याणका लागि पनि यो व्रत बस्ने विधान छ । स्वास्थ्य अनुसार निराहार, जलाहार वा फलाहार गरेर व्रत बस्न सकिन्छ भने आवश्यकता परे पुरुषले पनि व्रत धारण गर्ने प्रचलन छ ।

समग्रमा तीज व्रतलाई नित्य र काम्य दुवै खालको धार्मिक अभ्यास मानिन्छ । आत्मसंरक्षण, पारिवारिक सुख–शान्ति र पारलौकिक सद्गतिका लागि यो व्रत केवल हिन्दू धर्मावलम्बीका लागि मात्र नभई सम्पूर्ण मानव जातिका लागि लाभदायी रहेको धर्मशास्त्रविद्हरूको निष्कर्ष छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button