• चन्द्रकला कमली ( नहर्की ) /प्रहार समाचार । तनहुँ, १० भदौ २०८२ मङ्गगलवार । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत आँबुखैरेनी–जामुने ४१.५ किलोमिटर पूर्वी खण्डमाको काममा ढिलाई भएको छ। निर्धारित समयमा काम पूरा नभएपछि असोज २५ गतेसम्मका लागि चौथो पटक म्याद थपिएको छ । तस्बिर : प्रहार अनलाईन मिडिया ।

निर्माण ढिलाइ हुनुमा सडक अतिक्रमण, रुख कटान आदेश ढिलो आउनु, विद्युत् र खानेपानी पाइप सार्न कठिनाइ, कोभिड महामारीलगायत कारण रहेको निर्माण पक्षले जनाएको छ। हालसम्म ८५ प्रतिशत काम सकिएको र बाँकी काम थपिएको अवधिभित्र सम्पन्न हुने पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए।

छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको हो। दमौली बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेन कालोपत्र भइसकेको छ भने अधिकांश ठाउँमा सडक रङरोगन पूरा भएको छ। दमौली बजारका घरधनिले मुरब्जा लिएर पनि समयमा घर नभत्काउदा काममा झन ढिलाई हुन पुगेको आयोजनाले जनाएको छ। ‘अझै पनि दमौलीका घर धनिले मापदण्ड भित्र परेका सबै घरहरु भत्काएका छैनन् ।’ एक अधिकारीले भने ।

























