प्रहार समाचार । काठमाडौं, ४ भदौ २०८२ बुधवार । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले वर्षौंदेखि स्थगित गर्दै आएको पाँचौं महाधिवेशन यसपटक पनि हुने हो कि फेरि अधिवेशनको नाममा लम्ब्याउने खेल दोहोरिने हो भन्ने शंका कार्यकर्तामाझ चर्किँदै गएको छ। वडाबाट सुरु भएर केन्द्रसम्म पुग्ने भनिएको अधिवेशन प्रक्रिया पटक–पटक स्थगित हुँदा संगठन कमजोर हुँदै गएको कार्यकर्ताहरूको आरोप छ ।

केन्द्रीय नेतृत्वले भर्खरै कार्यतालिका सार्वजनिक गर्दै २०८२ भदौ १५ भित्र वडा–पालिका, कार्तिक मसान्तसम्म जिल्ला, मंसिर १० भित्र प्रदेश र अन्ततः मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ। तर, अघिल्ला वर्षमा पटक–पटक तोकिएको मिति तोडिएका कारण यसपटक पनि समयमै अधिवेशन हुनेमा धेरैलाई विश्वास छैन।

अध्यक्ष विद्वान गुरुङले ‘कुनै पनि हालतमा अधिवेशन सम्पन्न गर्ने’ अठोट सार्वजनिक गरे पनि संगठनभित्रै धेरैले यो घोषणालाई आश्वासनभन्दा बढी ठान्न सकेका छैनन्। कार्यकर्ताहरू भन्छन्, “तालिका देखाउन मात्रै हो कि, यसपटक साँच्चै नयाँ नेतृत्व चयन हुने हो?” अधिवेशनलाई बारम्बार लम्ब्याउने प्रवृत्तिले तरुण दलको विश्वसनीयता नै प्रश्नमा परेको भन्दै उनीहरूले केन्द्रीय नेतृत्वलाई गम्भीर चुनौती दिएको देखिन्छ।
























