हेडलाईनसमाचारप्रदेश

छ वटा स्थानीय तह उत्कृष्ट : संघीय सरकारद्वारा सम्मानित हुने

प्रहार समाचार । काठमाडौँ, ४ भदौ २०८१ बुधवार । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को “स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)” मा उत्कृष्ट नतिजा हासिल गरेका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । आगामी भदौ ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गर्ने विशेष कार्यक्रममा उनीहरुलाई सम्मानित गर्ने तयारी गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार खैरहनी नगरपालिका (चितवन), तिलोत्तमा नगरपालिका (रुपन्देही), नीलकण्ठ नगरपालिका (धादिङ), अर्जुनचौपारी गाउँपालिका (स्याङजा), बेनीघाट रोराङ गाउँपालिका (धादिङ) र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) उत्कृष्ट तहका रूपमा छनोट भएका छन् । यी स्थानीय तहहरूले शासकीय प्रक्रिया सुधार, विकास व्यवस्थापन र समग्र उपलब्धिमा उल्लेखनीय प्रगति देखाएका कारण उच्चतम अंक हासिल गरेका हुन् ।

सम्मान वितरण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको विशेष उपस्थितिमा “स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली” समेत शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस प्रणालीले स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्नका साथै आगामी दिनमा नीति तथा कार्यक्रम सुधारका लागि आधार तयार गर्नेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button