प्रहार समाचार । तनहुँ, ३ भदौ २०८१ मङ्गलवार । राष्ट्रिय सूचना दिवस–२०८२ का अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकृष्ण अधिकारीले सबै कार्यालयहरूलाई सूचना सम्प्रेषणमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालयमा आज जिल्लाका १० पालिका तथा सबै कार्यालयका सूचना अधिकारी तथा पत्रकारहरुको सहभागितामा आयोजित अन्तर्रक्रिया कार्यक्रममा प्रजिअ अधिकारीले सूचना दिने क्रममा व्यक्तिगत गोपनीयता र राष्ट्रिय हितको सुरक्षा कायम राख्दै आवश्यक जानकारी समयमै उपलब्ध गराउनुपर्ने बताए।

उनले सूचना प्रवाह कानूनी दायित्व मात्र नभई नागरिकको हकसमेत भएकाले प्रत्येक कार्यालयले त्रैमासिक रुपमा सूचना सार्वजनिक गर्नु अपरिहार्य रहेको बताए । प्रजिअ अधिकारीले उ सूचना प्रणालीलाई सहज, प्रभावकारी र विश्वासिलो बनाउन नसके जनतामा अविश्वास बढ्ने भन्दै यसतर्फ संवेदनशील बन्न आह्वान गरे।

कार्यक्रममा पत्रकारहरूले पालिकाहरूको वेभसाइट नचल्ने, सूचना अधिकारी अनुपस्थित हुने, आवश्यक सूचना नै नदिने जस्ता दर्जनौं समस्याबारे प्रश्न उठाएका थिए। सहायक प्रजिअ दिपक रेग्मीले सहजीकरण गरेको कार्यक्रममा सूचनाको हक कार्यान्वयनमा कमजोरी देखिएको र यसको प्रभावकारितामा सुधार गर्न कदम चाल्नुपर्ने निष्कर्ष निकालिएको थियो।


























