प्रहार समाचार । रोल्पा, २ भदौ २०८२ सोमवार । रोल्पाको थवाङ गाउँपालिकाको दुर्गम बस्तीबाट अस्पताल पुर्याइएका एक विरामीको भिडियो सामाजिक सञ्जालमा यति बेला तीव्र गतिमा भाइरल बनेको छ । आफन्तहरूले काँधमा बोकेर अप्ठ्यारो र चिप्लो बाटो पार गर्दै अस्पतालतर्फ लैजाँदै गरेको दृश्य हेर्दा जीवनसँग जुधिरहेको भान हुन्छ । बाटोमा पाइला राख्नेबित्तिकै माटो बग्ने अवस्था देख्दा सामान्य उपचारका लागि पुग्ने यात्रा नै जोखिमपूर्ण बनेको देखिन्छ ।

यही थवाङ कहिल्यै “राजधानी” घोषणा गर्ने सपना बोकेर जनयुद्धको केन्द्रविन्दु बनेको ठाउँ हो । प्रचण्डलाई ‘प्रचण्ड’ बनाउने आन्दोलन यहींबाट सुरु भएको हो भने, बर्षमान पुनदेखि ओनसरी घर्तीसम्मका शक्तिशाली नेताहरू यहीँ जन्मिएका हुन् । तर, वर्षौंदेखि सत्ताको नेतृत्व गर्दै आएका नेताहरूको जन्मभूमिमा अझैसम्म अस्पतालसम्म पुग्ने आधारभूत पूर्वाधारसमेत नहुनु स्थानीयवासीका लागि विडम्बना बनेको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आक्रोश चुलिएको छ । “क्रान्तिको राजधानी भनिएको ठाउँका नागरिक आजसम्म काँधमा बोकेर अस्पताल पुर्याउन विवश किन ?” भन्ने प्रश्नले नेताहरूलाई कठोर जवाफ दिन बाध्य बनाएको छ । जनताको गुनासो स्पष्ट छ— विकास र सुविधा अझै पुस्तौँ टाढा छ, नेताहरूले गरेको वाचा भने भाषणमै सीमित छ ।

























