प्रहार समाचार । काठमाडौं, २ भदौ २०८१ सोमवार । । नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि हल्का वृद्धि भएको छ । आइतबार प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । व्यापारीहरूका अनुसार चाँदीको मूल्यमा सानो उतारचढाव भए पनि बजारमा यसको प्रभाव देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य परिवर्तनले नेपाली बजारलाई प्रत्यक्ष असर पुर्याइरहेको छ । सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रतिको आकर्षण बढ्दै गएपछि यसको मूल्य उकालो लाग्ने क्रम जारी भएको विश्लेषकहरूको भनाइ छ । यसले नजिकिँदै गरेका पर्व–उत्सवमा सुनचाँदी खरिद गर्ने उपभोक्ता र व्यापारीलाई अझ मार पारेको छ।
























