प्रहार समाचार । काठमाडौँ, १ भदौ २०८२ आइतवार । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याउँदै कूटनीतिक संवादलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा राष्ट्रपति पौडेलले भारतको सामाजिक–आर्थिक र प्रविधिक प्रगतिबाट नेपाल लाभान्वित भएको उल्लेख गर्दै छिमेकी मित्रका रूपमा अझ बढी लाभ लिन चाहेको स्पष्ट पारे । उनले नेपाल र भारतबीचको सम्बन्ध शताब्दीयौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक नातामा जोडिएको भन्दै आपसी विश्वास र सम्मानमा आधारित सम्बन्धलाई नेपालले सधैँ उच्च प्राथमिकतामा राखेको जोड दिए ।
विदेश सचिव मिस्रीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको “छिमेक पहिलो नीति” अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले यस भ्रमणबाट दुवै मुलुकबीच आधुनिक युगको आवश्यकताअनुसार कनेक्टिभिटी र सहकार्य विस्तार हुनेमा विश्वास व्यक्त गर्दै सम्बन्धलाई थप प्रगाढ बनाउन तयार रहेको उल्लेख गरे ।
























