प्रहार समाचार । सिन्धुपाल्चोक, १ भदौ २०८२ आइतवार । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलमाथि आफ्नै क्वार्टरमा खाना पकाउने भान्छेलाई कुटपिट गरेको आरोप लागेको छ । आफूलाई बासी खाना र खुवाएको भन्दै डिएसपीले भान्छे शंकर कार्कीलाई हातपात मात्र नगरी अश्लील शब्द प्रयोग गरेको पीडितको दाबी छ । घटना सार्वजनिक भएपछि प्रहरीभित्रै अनुशासन, व्यवहार र मानवअधिकारबारे प्रश्न उब्जिएका छन् ।

पीडित कार्कीका अनुसार घटना गत बिहीबार द भएको हो । उनले डिएसपीका लागि छुट्टै र चोखो खाना तयार गरे पनि ‘बासी खाना दिएको’ भन्दै कुटपिट भएको आरोप लगाएका छन् । थप पीडा झेल्दै उनी प्रहरी निरीक्षकको निर्देशनमा हिरासतमा समेत राखिएको दाबी छ । यसैबीच आमाको श्राद्धको दिन समेत हिरासतमा राखिएकाले परिवारले न्यायको माग गर्दै आवाज उठाएका छन् ।
तर उल्टै, अनुशासनहीन कार्य गरेको भन्दै कार्कीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । आफू निर्दोष रहेको बताउँदै कार्कीले सत्यतथ्य प्रमाणित गर्न सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । डिएसपी खरेल विभागीय कारबाही भन्दै पन्छिएका छन् भने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले आफूलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।
























