प्रहार समाचार । तनहुँ, १ भदौ २०८२ आइतवार । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ। स्थानीय तहसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री देवकोटाले गाउँपालिकाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिने बताएका छन्।

कार्यक्रममा मन्त्री देवकोटाले सडक, पुल, खानेपानी र ऊर्जा पूर्वाधार विस्तारका लागि सहकार्यको ढोका खुला रहेको उल्लेख गर्दै गाउँलेको जीवनस्तर उकास्ने योजनामा प्रदेश सरकार गम्भीर रहेको बताए। उहाँले स्थानीय आवश्यकता अनुसार बजेट तथा योजना समायोजन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँको विकासका लागि प्रदेश सरकारसँग हातेमालो आवश्यक रहेको औंल्याउँदै स्थानीय तहले तयारी गरेको दीर्घकालीन योजनामा प्रदेशस्तरको सहकार्यले गति दिने विश्वास व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य र कृषि र पर्यटन क्षेत्रमा साझेदारी गरेर आँबुखैरेनीलाई उदाहरणीय बनाउन सकिने बताए ।

























