प्रहार समाचार । तनहुँ, ३१ साउन २०८२ शनिवार । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज तनहुँको व्यास–५ सागेस्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यन्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालयका १८ जना विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । पूर्व सांसद कलिला खान, वेदव्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष साबित्री श्रेष्ठ, समाजसेवी राजकुमार श्रेष्ठ, लेखाजोखा संयोजक ईश्वर बास्तोला र विद्यालयका प्रधानाध्यापक मदन वाग्ले लगायतको त्यस अवसरमा उपस्थिति रहेको थियो ।

पूर्व सांसद खानले सडक बालबालिकामुक्त अभियानमा संलग्न अनुभव सुनाउँदै अपाङ्गता भएका बालबालिकाका लागि पनि सामूहिक सहयोग आवश्यक रहेको बताइन्। त्यस्तै, आश्रमकी अध्यक्ष श्रेष्ठले डेढ महिनादेखि योजना भएको कार्यक्रम कृष्ण जन्माष्टमी र समाजसेवी राजकुमार श्रेष्ठका छोराको जन्मदिनसँगै संयोग मिलेको उल्लेख गर्दै यसलाई शुभ कार्यको सुरुवातका रूपमा लिइन।

कार्यक्रममा संयोजक बास्तोलाले ग्रामीण भेगका बालबालिकाले शैक्षिक सामग्रीको अभावमा पढाइ छोड्नुपर्ने अवस्थालाई सम्बोधन गर्न “शैक्षिक बैंक” अभियान थालिएको जानकारी दिए। विद्यालयका प्रध्यानाध्यापक वाग्लेले बौद्धिक अपाङ्गता भएका विद्यार्थीप्रति देखाइएको सद्भाव र निरन्तर सहकार्यलाई सराहना गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरतामा आशा व्यक्त गरे।
























