• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ३१ साउन २०८२ शनिवार । लमजुङको क्ब्होलासोथारका दुई दीर्घरोगीलाई हङकङ लमजुङ सेवा समितिले उपचार खर्च सहयोग गरेको छ । समितिले शुक्रबार क्ब्होलासोथार गाउँपालिका–४ का गमबहादुर गुरुङ र वडा–७ चरागाउँकी ५० वर्षीया आइतकुमारी गुरुङलाई जनही ३ लाख ४३ हजार ३ सय ५० रुपैयाँको उपचार खर्च हस्तान्तरण गरेको हो । गमबहादुर पक्षाघातले पीडित छन् भने आइतकुमारी पाठेघरको मुखको क्यान्सरबाट ग्रस्त छिन् ।

सहयोग रकम समितिका संरक्षक एवम् संविधानसभा सदस्य जमिन्द्रमान घले, संस्थापक सदस्य रामबहादुर गुरुङ र लमजुङ सम्पर्क समितिकी अध्यक्ष मीना गुरुङले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । पत्रकारहरूको रोहबरमा गमबहादुरलाई स्वयं र आइतकुमारीको तर्फबाट उनका भाइ एवम् लोकगायक टसबहादुर गुरुङले रकम ग्रहण गरेका थिए ।
हङकङमा रहेका लमजुङेहरूले १९९८ मा स्थापना गरेको समितिले शिक्षादेखि खेलकुद र मानवीय सेवामा निरन्तर योगदान दिँदै आएको छ । २०७१ मा लमजुङमा सम्पर्क समिति गठन गरिएको संस्थाले ४४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ भने सो कोषलाई १ करोडसम्म पुर्याउने लक्ष्य राखिएको सम्पर्क समितिकी अध्यक्ष मीना गुरुङले जानकारी दिइन् ।

























