प्रहार समाचार । तनहुँ, ३१ साउन २०८२ शनिवार । आज देशभर श्रीकृष्णजन्माष्टमी पर्व श्रद्धा र भक्ति भावनासहित मनाइँदैछ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णलाई ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता मानिन्छ। मध्यरातमा देवकीको गर्भबाट अवतरित भएका श्रीकृष्णको जन्मदिनलाई ‘मोहरात्री’ नामले पनि चिनिन्छ। यस अवसरमा मन्दिरहरूमा पूजाआराधना, भजन–कीर्तन, प्रवचन, व्रत र जाग्रामको परम्परा चलनमा छ।

विशेष गरी काठमाडौं उपत्यकाका पाटनको प्रसिद्ध कृष्ण मन्दिर, गोठाटारस्थित नवनतधाम र बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ। देशभरका विभिन्न धार्मिक संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालेर उत्सवलाई सांस्कृतिक र सामूहिक रूप दिने परम्परा कायम राखेका छन्। महिलाहरूले विशेष व्रत बसी, भजनकीर्तनमा सहभागी भई रातभर जाग्राम बस्ने गर्छन्।
बाल्यकालदेखि नै चमत्कारी लीला प्रदर्शन गरेका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दुष्ट प्रवृत्तिको अन्त्य गर्दै सत्य, धर्म र न्यायको रक्षा गरेका थिए। कुरुक्षेत्र युद्धमा अर्जुनलाई प्रदान गरेको उपदेश ‘श्रीमद्भागवत गीता’ आजसम्म पनि मानव जीवनलाई मार्गदर्शन गर्ने महान ग्रन्थका रूपमा पूजित छ। जन्माष्टमीमा श्रद्धापूर्वक व्रत बस्ने भक्तजनले मोक्षप्राप्ति गर्ने र इच्छित मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

























